Saturday, September 30, 2023

अमेरिकाका राष्ट्रपतिद्वारा प्रदान गरिने अमेरिकाको प्रतिष्ठित पुरस्कार "लाइफ टाइम एचिभमेन्ट अवार्ड" २०२३ अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका संस्थापक अध्यक्ष, वरिष्ठ लोक तथा दोहोरी गायक एवम् पत्रकार रामप्रसाद खनाललाई

 अमेरिका / अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका संस्थापक अध्यक्ष, वरिष्ठ लोक तथा दोहोरी गायक एवम् पत्रकार रामप्रसाद खनालले अमेरिकाका राष्ट्रपतिद्वारा प्रदान गरिने अमेरिकाको प्रतिष्ठित पुरस्कार "लाइफ टाइम एचिभमेन्ट अवार्ड" २०२३ प्राप्त गर्नु भएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गर्नुभएको विशेष प्रमाणपत्र सहितको पुरस्कार र व्ह्वाइट हाउसका तर्फबाट राष्ट्रपतिले लेख्नुभएको सम्मान पत्र प्राप्त गर्नुभएका खनाल अमेरिकामा पनि गीत सङ्गीत, साहित्य, कलाकारिता, पत्रकारिता, विभिन्न व्यवसायहरूका अलावा स्वयमसेवीको रुपमा समाजसेवामा निरन्तर योगदान गरिरहनुभएको छ । 

समाजसेवाका क्षेत्रमा लगातार क्रियाशील खनालले स्वयमसेबकका रूपमा अमेरिकामा पुर्‍याउनुभएको विशेष योगदानको अमेरिकाका राष्ट्रपति जो बाइडेनले सम्मान पत्रमा प्रशंसा गर्नुभएको छ । 

खनाल विगत चार दशक देखी गीत सङ्गीत, साहित्य, कलाकारितामा संलग्न रहँदै आउनुभएको छ भने साढे तीन दशक यता पत्रकारिता र विभिन्न व्यापार, व्यवसायमा संलग्न हुनुहुन्छ । नेपालमा नेपाल सरकारको तर्फबाट रेडियो नेपालद्वारा बिशिस्ठ लोक दोहोरी गायकका रूपमा प्रमाणित र सम्मानित वहाँ विगत सत्र वर्ष देखी अमेरिकामा बसोबास गर्दै आउनुभएको छ । नेपालमा मात्र होइन सत्र वर्ष यता अमेरिकामा बस्दा पनि गीत सङ्गीत, साहित्य, कलाकारिता, पत्रकारिता, विभिन्न व्यवसायहरूका अलावा समाजसेवामा निरन्तर योगदान गरिरहनुभएका खनाल नेपालमा पनि नेपालका राष्ट्रिय पुरस्कार प्रख्यात त्रिशक्ति पट्ट, गोरखा दक्षिण बाहु लगायतका कैयौँ राष्ट्रिय पुरस्कार, सम्मान, अभिनन्दन प्राप्त गर्ने व्यक्तित्व हुनुहुन्छ ।

अमेरिकामा अतिरिक्त क्षमतावान व्यक्तिहरू लाई अमेरिकाले प्रदान गर्ने एक्स्ट्रा अर्डिनरी एबिलिटी इवी वान अन्तर्गतको विशेष ग्रीनकार्ड प्राप्त गरी यहाँ बस्दै आउनुभएका खनाल नेपाली अमेरिकन समुदाय, एसियन अमेरिकन समुदाय र समग्रमा अमेरिकी समुदायमा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ । 

हाल सम्म वहाँका हजार भन्दा बढी गीत सङ्गीत, पन्ध्र सय भन्दा बढी कविता गजल मुक्तक, ५२ वटा गीति एल्बम, १८ वटा विभिन्न विषयका पुस्तकहरू प्रकाशित छन् भने वहाँका गीत सङ्गीत अन्तर्राष्ट्रिय प्लेटफर्महरू एमाजोन, सिडी बेबी, एपल म्युजिक लगायतमा पनि उपलब्ध छन् । 

खनाल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो कमिटीका पूर्व अध्यक्ष, लुम्बिनी सङ्गीत कला तथा साहित्य प्रतिष्ठानका संस्थापक महासचिव, राष्ट्रिय पत्रकार महासङ्घका संस्थापक महासचिव, दक्षिण एसियाली पत्रकार महासङ्घका संस्थापक महासचिव, इन्टरनेट मिडिया एन्ड  इन्भेस्टमेन्ट हाउसका अध्यक्ष पनि हुनुहुन्छ ।

वहाँका बारेमा जान्न http://www.ramprasadkhanal.com  मा जन सक्नुहुन्छ ।  










No comments: