काठमाडौं / अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष, पत्रकार, अभिनेता, गायक तथा समाजसेवी रामप्रसाद खनाललाई Global Star Award 2025 अन्तर्गत "Most Popular Singer – Male – Folk" विधामा सम्मानित गरिएको छ। काठमाडौँमा आयोजित एक विशेष समारोहमा उक्त अवार्ड प्रदान गरिएको हो।
पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा खनाललाई नेपाली लोकसंगीत क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यो अवार्ड प्रदान गरिएको हो।
हाल संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएका खनालले विदेशमा रहँदा पनि लोकगीत, दोहोरी, तीज गीत लगायतका ८ वटा मौलिक गीत एक वर्षभित्र सार्वजनिक गरेका छन्। उनले उल्लेख गरेअनुसार, नेपालबाट धेरै कार्यक्रम आयोजकहरूले फोन, सन्देशमार्फत सम्झिरहँदा आफू अत्यन्तै आभारी छन्।
खनालले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्: "Global Star Award 2025 प्रति म हार्दिक आभारी छु। यस सम्मानले विदेशमा रहँदा पनि लोकसंगीतमा गरेको निरन्तर प्रयासको कदर भएको अनुभूति दिलाएको छ।"
उनले विगतमा कहिल्यै कुनै अवार्ड वा सम्मानका लागि फर्म नभरेको उल्लेख गर्दै आफूले अवार्ड माग्ने होइन, अरूको मूल्याङ्कन र निर्णयले नै दिलाउने अमूल्य चिज भएको विश्वास व्यक्त गरेका छन्।
खनाल हाल अमेरिका स्थित Winchester, Virginia मा रहेकाले पुरस्कार, प्रमाणपत्र र ट्रफी उनका मित्र राजेन्द्र लुइँटेलले ग्रहण गरेका थिए। यसबापत उनले लुइँटेलप्रति आभार प्रकट गरेका छन्।
खनालले उक्त अवसरमा आफ्ना गीतहरूमा सँगै रहेर साथ दिने सम्पूर्ण गायक, संगीतकार, निर्माता, साथीभाइ, दिदीबहिनी सबैलाई सम्झँदै धन्यवाद ज्ञापन गरेका छन्।
"अवार्ड, सम्मान, अभिनन्दन मागेर होइन, योग्य र उचित लागेपछि दिइने चिज हो। यसलाई मर्यादित राख्न सबैको ध्यान जानुपर्छ," खनालले लेखेका छन्।
राम प्रसाद खनाल नेपाली पत्रकारिता, लोकसंगीत, समाजसेवा र प्रवासी नेपाली समाजमा सक्रिय रहँदै आएका बहुप्रतिभाशाली व्यक्तित्व हुन्। Global Star Award 2025 मा यो सम्मान प्राप्त गर्नु उनका लागि मात्र नभई नेपाली लोकसंगीतकै सम्मान हो।

सबैभन्दा लोकप्रिय लोक गायकका रूपमा पुरस्कृत, सम्मानित भए पछि खनालले भनेका छन् :
"Global Star Award 2025" प्रति म हार्दिक आभारी छु !
विदेशको बसाइमा पनि यो एक वर्षमा लोकगीत, दोहोरी गीत, तीजका गीत गरेर आठ वटा मौलिक गीतहरू गाइएछ । धेरै कार्यक्रम र अवार्ड आयोजकहरूले नेपालबाट सम्झिँदै फोन, म्यासेज पनि गरिरहनु भएको छ, म वहाँहरू प्रति हार्दिक आभारी छु । कतिपयले फर्म भर्न विनम्र आग्रह पनि गर्नुभयो मैले वहाँहरूलाई विनम्रता पूर्वक नै अवार्ड, सम्मान, अभिनन्दनका लागि आज सम्म कहीँ कतै कहिल्यै फर्म नभरेको र फर्म भर्न आफ्नै स्वाभिमान, नैतिकता र मनले अनुमति नदिएको बताउँदै त्यसो गर्न नसक्ने, नगर्ने र त्यसका लागि क्षमा याचना गर्दै आएको छु ।
यत्तिकैमा आज काठमाडौँमा आयोजित एक विशेष समारोहमा मलाई "Global Star Award 2025" आयोजकहरुले यस वर्षको Most Popular Singer - Male - Folk ( पुरुष गायन तर्फ सबैभन्दा लोकप्रिय लोक गायक ) का रूपमा पुरस्कृत, सम्मानित गरिएको खबर भर्खर मेरा मित्र राजेन्द्र लुइँटेलले जानकारी गराउनुभयो र पुरस्कार, प्रमाणपत्र, ट्रफी, सम्मानको फोटो पनि प्रेषित गर्नुभयो ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त समारोहमा मलाई यसका लागि लायक सम्झिनुहुने आयोजक Global Star Award परिवार प्रति म हार्दिक आभारी छु । म विदेशमा भएका कारण मेरो पुरस्कार, प्रमाणपत्र, ट्रफी, सम्मान ग्रहण गरिदिनुहुने मित्र राजेन्द्र लुइँटेलजी लाई हार्दिक धन्यवाद ।
यस अवसरमा मेरो गायनमा, मेरा गीतहरूमा मलाई साथ दिने सबै सबै कलाकार मित्रहरू, भाइ बहिनीहरू, निर्माण कार्यमा संलग्न सबै मित्रहरू पनि यसका भागिदार हुनुहुन्छ, म वहाँहरू सबैलाई सम्झिन चाहन्छु ।
अवार्ड, सम्मान, अभिनन्दन मागेर होइन अरूले मूल्याङ्कन गरेर योग्य, उचित ठाने, मानेमा दिने अमूल्य चिज हुन् यस तर्फ हामी सबैको ध्यान जाओस् र अवार्ड, सम्मान, अभिनन्दनलाई मर्यादित बनाउन पनि सम्बद्ध सबैको ध्यान जानुपर्छ, मलाई त्यस्तो लाग्छ । तपाई हामी सबैको जय होस् । धन्यवाद । - रामप्रसाद खनाल


No comments:
Post a Comment