Monday, November 16, 2015

अमेरिकामा अन्तर्राष्ट्रिय कलाकार मँचका उपाध्यक्ष एबम पूर्व प्राज्ञ नाटक धरोहर हरी बहादुर थापाको निर्देशनमा पहिलो पटक नाटक प्रत्यक्ष प्रदर्शन गरिँदै !

न्यूयोर्कमा पहिलो शो डिसेम्बर १३ मा, वाशिङटन डिसीमा थिएटर हलको खोजी हुँदै !
आउंदो डिसेम्बर १३ तारिखका दिन आइतबार, संसारकै नाट्यकलाको शहर भनेर चिनिने न्युयोर्क म्यानह्याटनको ब्रोडवेमा पहिलो पटक नेपाली नाटक मञ्चन हुंदैछ । आइतबार न्युयोर्क शहरको ज्याक्सन हाइट्समा पत्रकार सम्मेलन मार्फत यससम्बन्धी जानकारी दिइयो ।  जोडियोस् भत्किएका मनहरु नामक नाटकका लेखक हुन् अशेष मल्ल ।  नेपाली रंगमञ्चको इतिहास केलाउंदा अशेष मल्लका स्थान के हो भनी लेखिरहनै पर्दैन । नेपाली रंगमञ्चको स्थापित नाट्य समुह सर्वनामका निर्देशक हुन् मल्ल । सडक नाटकलाई नेपालमा स्थापित गर्ने अग्रज रंगकर्मी मल्लले यो नाटकमार्फत भुकम्पमा परि भत्किएका मनहरुलाई जोड्ने प्रयास गर्दैछन् । अशेष मल्ल जस्ता अग्रज कलाकारसंग जोडिएका छन् रंगमञ्चकै अर्का हस्ती अर्थात हरिबहादुर थापा ।
मालती–मङ्गले र अमरसिंह जस्ता प्रशिद्ध नाटकमा जीवन्त अभिनय गरेर छुट्टै पहिचान बनाएका थापाले यस नाटकको निर्माण र निर्देशन गर्दैछन् । थापा विगत दुई महिनादेखि न्युयोर्कमै रहेका कलाकारहरुलाई लिएर यो नाटकको प्रशिक्षण दिइरहेका छन् । “मलाई न्युयोर्कको रंगमञ्चमा नाटक देखाउने ठुलो रहर थियो , त्यो अब पुरा हुने संकेत देखिएको छ ,” थापा भन्छन् ।
थापा नाटकको विषयवस्तु बारे यसो भन्छन्,“ नेपालमा आएको विनाशकारी भूकम्प र यसबाट प्रभावित मानवीय समबेदना, घटना र प्रतिक्रिया नै नाटकको सार हो.......यही क्रिया प्रतिक्रियाको सविस्तार चित्रण अनि, अब भूकम्पग्रस्त समाजले खोजेको सन्देशलाई दर्शक माझ पुर्याउने एउटा प्रयास हो यो नाटक । ”
“ विश्व रंगमंचको राजधानी सहर न्युयोर्क, जहा दिनहुं अनेक शैलीका सयौं नाटकहरु प्रर्दशन भैरहन्छन् । हामीले पनि त्यही व्यस्त ब्रोडवमा यसरी नेपाली भाषाको नाटक पहिलो पटक मन्चन गर्न पाउदा अत्यन्तै हर्ष लागेको छ,” थापा थप्छन् ।
न्युयोर्कमा हुने विभिन्न रंगमञ्चिय प्रस्तुतिलाई दर्शक संख्याको आधारमा तीन भागमा विभाजन गरिन्छ ।
१. ब्रोडवे थियटर–यो न्युयोर्कको सबभन्दा ठुलो नाटक मञ्चन हुने ठाउं हो । ४० वटा व्यवसायिक रंगमञ्च रहेको ब्रोडवेमा सिट क्षमता ५०० देखि लगभग २००० सम्म हुन्छ ।
२. अफ ब्रोडवे थियटर–यो दोस्रो ठुलो नाटक मञ्चन हुने ठाउं हो जहां सिट क्षमता १०० देखि ४९९ सम्मका हुन्छन् । नेपाली नाटक “जोडियोस् भत्किएका मनहरु” यहिं देखाइंदैछ ।
३. अफ–अफ ब्रोडवे थियटर–यो सबभन्दा सानो नाटक मञ्चन हुने ठाउं हो जहां सिट क्षमता १०० भन्दा कम हुन्छन् ।
नाटकमा न्युयोर्कमै रहेका नेपाली कलाकारहरु नदिया लिवांङ, संगीता उप्रेती, दीपिका श्रेष्ठ, सहदेव पौडेल, अनुज थापा, कृष् थापा, ज्योति कुमार श्रेष्ठ, क्रिष्टल थापा, दिलाष्मा रजक, यादव गौतम र विकास विष्टको अभिनय रहने छ ।
पत्रकार सम्मेलनमा नाटकमा पत्रकारकी भुमिका निभाइरहेकी दिपिका श्रेष्ठले २ मिनेटको प्रस्तुति दिएकी थिइन् ।
करिब एक घण्टा लामो यस नाटक अवलोकन गर्न सबै नेपालीलाई आह्वन गर्दै निर्देशक थापा भन्छन् –“ यो कुनै काल्पनिक र मनोरंजनात्कम भ्रम होइन यो एउटा मार्मिक यथार्थ हो । यस यथार्थलाई विश्वभरका शुभ चिन्तकका माझ प्रस्तुत गरिरहेका छौं । यो केबल नाटक मात्र होइन यो त स्वयं एउटा जीवन हो।”
न्युयोर्क शहरको म्यानह्याटनमा रहेका 777 Theatre मा यहि डिसेम्बर १३ तारिख ३ बजे र ७ बजे दुई शो हुंदैछ ।  उक्त थियटरमा नाटक अवलोकन गर्नका लागि २५, ५० र १०० डलरका टिकटहरु राखिएका छन् । 





 


No comments: