Monday, September 10, 2018

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीको संयुक्त आयोजनामा नेपालको तीज बिर्साउने गरी अमेरिकामा यसरी सम्पन्न भयो तीज महोत्सब २०१८ !


 

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीको संयुक्त आयोजना ।  दुई दिन देखिको लगातार वर्षा, तर पनि अमेरिकामा रहेका दिदी बहिनीको मुहारमा छाएकै थियो हर्ष । वासिङ्टन डिसी नजिकै भर्जिनिया अवस्थित दुर्गा मन्दिरको ठुलो सभा हल खचाखच भरिएको थियो । त्यहाँको वातावरण देख्दा लाग्थ्यो - हामी नेपाल मै छौँ । तीज महोत्सव अमेरिका २०१८ जहाँ निःशुल्क प्रवेश, तीजको दर, धक फेरेर गाउने, नाच्ने, तीज मनाउने व्यवस्था, साथमा तीजको किनमेल स्टलहरू पनि समावेश थिए ।  सेप्टेम्बर ९ तारिख आइतबार बिहान १२ बजे देखी सुरु भएको तीज महोत्सव बेलुकी ६ बजे सम्म लगातार चलिरह्यो ।

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले तीज पर्व सँग जोडिएका शिव पार्वतीको तस्बिर अगाडि पानसमा बत्ती बालेर तिज महोत्सव उद्घाटन गर्नुभयो, अनि सुरु भए तीजका गीतहरू र नाचहरूका वर्षा । दुई वा दुई भन्दा बढीको सामूहिक गीत र नाच होस वा पुरै हल जुरुक्क उठेर नाच्दा नेपालको तीज र वातावरण झलझल याद आउँथ्यो । नेपाली लोक संस्कृति अमेरिकामा पनि छाएको महसुस हुन्थ्यो ।


कार्यक्रममा प्रमुख अतिथि रहेका राजदूत डा. कार्कीले तीजको महत्त्व बारे प्रकाश पार्दै अमेरिकामा पनि तीज महोत्सव आयोजना गरेर अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीले उल्लेखनीय काम गरेकोमा मुक्त कण्ठले प्रशंसा गर्नुभयो । वहाँले तीज एउटा पर्व मात्र नभएर संस्कृति पनि भएकोले यसको जगेर्नामा ध्यान दिनुपर्ने बताउनुभयो ।

आयोजक अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डिसी मेट्रो कमिटीका अध्यक्ष एवम् लोक गायक रामप्रसाद खनालले तीजका गीत र नाच आजकल रत्यौली बन्दै गइरहेको, त्यो भन्दा पनि बढी छाडा र विकृतिपूर्ण बन्दै जानु दु:खुद भएको बताउनुभयो । हामीले देशमा सबै कुरा त खायौँ खायौँ अलिकति बाँकी रहेको लोक संस्कृतिलाई बँचाउनुपर्छ अन्यथा हाम्रो सम्पूर्ण पहिचान गुम्ने छ खनालले भन्नुभयो ।

अनेसास वासिङ्टन डिसी मेट्रो कमिटीका महासचिव भुप नारायण घर्तिमगरले तीज पर्व र यस सँग जोडिएका तथ्यहरूका बारेमा प्रकाश पार्दै तीज को एतिहासिक महत्त्व रहेको बताउनुभयो ।         

नेपाली संघ संस्था र महिलाहरूको प्रतिनिधित्व गर्दै अमेरिका नेपाल सोसाइटीका अध्यक्ष प्रभा भट्टराई देउजा र अमेरिकी महिलाहरूको प्रतिनिधित्व गर्दै डा. जुडी फ्रेडिकसन सुवेदीले तीज महोत्सवको सफलताका लागि शुभकामना दिनुभएको कार्यक्रममा अनेसास डिसीका उपाध्यक्षद्वय अरुण रुपाखेती र रजनी श्रेष्ठले धन्यवाद ज्ञापन र स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम अनेसास वासिङ्टन डिसी मेट्रो कमिटीका महासचिव भुप नारायण घर्तिमगर, उपाध्यक्ष बिमला निरौला, सुस्मा खनाल, बिना घर्तिमगर, रोजा वलीले सँचालन गर्नुभएको थियो ।     

कार्यक्रममा कोसाध्यक्ष पुस्कर पन्त, आर्थिक उपसमिती संयोजक खगेन्द्र थापा र स्वयमसेबक संयोजक मुकुन्द कोइरालाले आफ्नो जिम्मेवारी अन्तरगतका विवरण पेश गर्नुभएको थियो । 

स्मरण रहोस  अमेरिकामा हरेक वर्ष आयोजना गरिँदै आएको तीज महोत्सव पहिलो पटक सन २००८ मा रामप्रसाद खनालले सुरुवात गर्नुभएको थियो । सो भन्दा अगाडि अमेरिकामा तीजको औपचारिक कार्यक्रम भएको कुनै तथ्य भेतिंदैन । सन २००८ मा  तीज महोत्सव सुरु गरिए पछि का वर्षहरूमा भने अमेरिकाका विभिन्न राज्यहरूमा तीजका कार्यक्रमहरू आयोजना गर्न थालिएको देखिन्छ ।
     
कार्यक्रमको अन्त्यमा गीत र नाचमा सहभागी टोली र तीज महोत्सवका सहयोगीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

(कार्यक्रम का उपलब्ध भए सम्मका फोटोहरु फेसबुकको यो लिँकमा पनि हेर्न सक्नुहुन्छ : https://www.facebook.com/rpkhanal/media_set?set=a.10215573568265544&type=3&uploaded=223)

 कार्यक्रमका तस्बिरहरू आफै यसरी पुरा समाचार बोल्दछन्:







No comments: