Saturday, October 10, 2026

अध्यक्ष रामप्रसाद खनाललाई ‘लोकगीत, दोहोरीगीत, सङ्गीत, पत्रकारिता र साहित्य क्षेत्रको अति विशिष्ट सम्मान–२०२६’ प्रदान




काठमाडौं। नेपाली लोकसङ्गीत, दोहोरीगीत, कला, साहित्य, पत्रकारिता तथा सांस्कृतिक क्षेत्रमा चार दशकभन्दा लामो समयदेखि निरन्तर सक्रिय वरिष्ठ लोकगायक, गीतकार, सङ्गीतकार, साहित्यकार, पत्रकार तथा बहुआयामिक व्यक्तित्व रामप्रसाद खनाललाई ‘लोकगीत, दोहोरीगीत, सङ्गीत, पत्रकारिता र साहित्य क्षेत्रको अति विशिष्ट सम्मान–२०२६’ प्रदान गरिएको छ।

ग्लोबल स्टार अवार्ड आयोजकहरूले नेपाली कला, संस्कृति, लोकसङ्गीत, साहित्य र पत्रकारिताको विकास, संरक्षण तथा प्रवर्द्धनमा खनालले पुर्‍याउँदै आएको दीर्घकालीन योगदानको कदर गर्दै उक्त विशिष्ट सम्मान प्रदान गरेका हुन्।

नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता तथा निर्देशक नीर शाह, लोकप्रिय हास्य कलाकार एवं वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलगायतका अग्रज कलाकारहरूको सहभागिता रहेको सम्मान कार्यक्रममा खनाललाई सम्मानका लागि चयन गरिएको थियो।

तर, चलचित्रको छायाङ्कनमा व्यस्त रहेका कारण खनाल निर्धारित सम्मान समारोहमा उपस्थित हुन सकेनन्। समारोहमा उनको अनुपस्थितिपछि आयोजकहरूले भोलिपल्ट उनको निवासमै पुगेर सम्मानपत्र, पदक तथा अन्य सम्मान सामग्री हस्तान्तरण गरेका थिए। खनालले सम्मान ग्रहण गर्दै आयोजक संस्था, वरिष्ठ कलाकारहरू तथा सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

सम्मान प्राप्त गरेपछि खनालले भने, “ग्लोबल स्टार अवार्डका आयोजकहरू, अग्रज कलाकार तथा मेरा आदरणीय दाजुहरू नीर शाहज्यू, मदनकृष्ण श्रेष्ठज्यू र अन्य सम्पूर्ण अग्रज कलाकारज्यूहरूप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछु। मलाई लोकगीत, दोहोरीगीत, सङ्गीत, पत्रकारिता र साहित्य क्षेत्रको अति विशिष्ट सम्मान–२०२६ का लागि योग्य सम्झेर सम्मान प्रदान गर्नुभएकोमा अत्यन्त कृतज्ञ छु।”

उनले थप भने, “हिजोको सम्मान कार्यक्रममा चलचित्रको छायाङ्कनमा व्यस्त रहेकाले उपस्थित हुन नसकेकोमा आयोजक तथा अग्रजहरूसँग क्षमा याचना गर्दछु। आज आयोजकहरूले मेरो निवाससम्म आएर सम्मानपत्र, पदकलगायतका सामग्री हस्तान्तरण गर्नुभयो। मैले सहर्ष स्वीकार गर्दै सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छु।”

अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका संस्थापक तथा अध्यक्षसमेत रहेका खनाल अन्तर्राष्ट्रिय पत्रकार महासंघ (FIJA) अमेरिकाका अध्यक्ष तथा अमेरिकाबाट सञ्चालित नेपाली समाचारमाध्यम नेपालमदर डटकमका प्रधानसम्पादक हुन्। उनी लामो समयदेखि नेपाल र अमेरिकामा रहेर नेपाली कला, संस्कृति, साहित्य, सङ्गीत र पत्रकारिताको क्षेत्रमा निरन्तर क्रियाशील छन्।

रेडियो नेपाल, नेपाल टेलिभिजनलगायतका प्रतिष्ठित सञ्चारमाध्यममा रहेर लोकसङ्गीत र पत्रकारिताका क्षेत्रमा काम गरिसकेका खनालले हजारौँ गीत, कविता, गजल तथा लेखरचनाको सिर्जना गरेका छन्। उनले नेपाली लोकदोहोरीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन र प्रवासमा रहेका नेपाली कलाकारहरूलाई संस्थागत रूपमा एकताबद्ध गर्नसमेत योगदान पुर्‍याउँदै आएका छन्।

लोकगायक मात्र नभई गीतकार, सङ्गीतकार, साहित्यकार, पत्रकार, टेलिभिजन प्रस्तोता तथा चलचित्र अभिनेताका रूपमा समेत परिचित खनालले नेपाली कला र संस्कृतिको मौलिक पहिचान जोगाउन निरन्तर आवाज उठाउँदै आएका छन्।

यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार, पदक, अभिनन्दन र विशिष्ट सम्मान प्राप्त गरिसकेका खनालका लागि ग्लोबल स्टार अवार्डअन्तर्गत प्रदान गरिएको यो अति विशिष्ट सम्मान उनको चार दशकभन्दा लामो सिर्जनात्मक तथा व्यावसायिक यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा थपिएको छ।

खनालले आफूलाई प्राप्त हुने यस्ता सम्मानले नेपाली लोककला, सङ्गीत, साहित्य, पत्रकारिता र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा अझ सक्रिय भएर लाग्न प्रेरणा दिने बताएका छन्।



No comments: