Sunday, June 12, 2022

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाले गर्‍यो वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ सङ्गीतकार एवम् गीतकार शिला बहादुर मोक्तानलाई अमेरिकामा अभिनन्दन

 

 अमेरिका / कलाकारहरूको अन्तर्राष्ट्रिय सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाले वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ सङ्गीतकार एवम् गीतकार शिला बहादुर मोक्तानलाई अमेरिकामा आयोजित एक बिशेष कार्यक्रममा अभिनन्दन गरेको छ ।  अमेरिकाको भर्जिनिया मनाससमा आयोजित वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ सङ्गीतकार एवम् गीतकार शिला बहादुर मोक्तान सुमधुर साँझका अवसरमा वहाँहरूलाई अभिनन्दन गरिएको हो । 

 अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष एवम् वरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनालले वहाँहरूलाई अभिनन्दन गर्दै अभिनन्दन पत्र, मञ्चको अति सम्मानित मानार्थ सदस्यता र विशेष पदक पनि प्रदान गर्नुभएको थियो भने मँचकै बोर्ड अफ डाइरेक्टरहरू वरिष्ठ चलचित्र नायिका पूजा लामा, वरिष्ठ कोरियो ग्राफर, निर्देशक द्वय नबिन केसी र लुना श्रेष्ठले मञ्चका तर्फबाट  मोक्तान दम्पतीलाई खादा र मालाले सम्मान गर्नुभएको थियो ।

 यसै गरी कार्यक्रममा मेरिल्यान्ड राज्यका डेलिगेट्स ह्यारी भण्डारीले पनि मोक्तान दम्पतीलाई आफ्नो पदीय हैसियतबाट सम्मान पत्र प्रदान गर्नु भयो । सो अवसरमा मोक्तान दम्पतीले भण्डारी र प्रायोजकहरूलाई पनि मायाको चिनो प्रदान गर्नुभयो । 

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै डेलिगेट्स भण्डारीले गीत सङ्गीत क्षेत्रका दुई महान् हस्तिहरूलाई आफूहरूले सम्मान गर्न पाउँदा खुसी लागेको बताउनु भयो ।  

प्रतिभाशाली जोडी द्वय आरजे सरोज केसी र रुसा केसीको मिठो उदघोसणमा सञ्चालित कार्यक्रममा वरिष्ठ सङ्गीतकार एवम् गीतकार शिला बहादुर मोक्तानका दुई गीतहरू प्रस्तुत गरिए पछि वरिष्ठ गायिका कुन्ती मोक्तानका लोकप्रिय सबै खाले गीतहरू प्रस्तुत गर्दा माहौल निकै रमाइलो बनेको थियो । गीत गाउँदै जाँदा वरिष्ठ गायिका मोक्तानले दर्शक श्रोताहरू सँग आफुलऐ असाध्यै मन परेको र मन छोएको कविता पढ्छु भन्दै अनुमति मागेर रामप्रसाद खनालको कविता सङ्ग्रह "देश हराएको मान्छे" बाट "अमेरिकामा" शीर्षक को कविता वाचन पनि गर्नुभयो ।

कार्यक्रममा स्थानीय केही प्रतिभाहरूका गीत र नाच पनि समावेश थिए । रुसा केसीको नाचको तारिफ गर्दै थिए कलाकार र दर्शकहरू ।  सरोजको उदघोसण र उखान टुक्का शैली उत्तिकै स्मरण योग्य थियो ।   

वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ सङ्गीतकार एवम् गीतकार शिला बहादुर मोक्तान दुवैले अमेरिकामा आफूहरू सम्मानित अभिनन्दित हुने अवसर पाएकोमा गौरवान्वित भएको बताउँदै डेलिगेट्स भण्डारी, अध्यक्ष खनाल सहित अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका प्रति, कार्यक्रम कोअर्डिनेशनकर्ता सरोज र रुसा प्रति आभार प्रकट गर्नुभयो । अमेरिकामा दर्शक श्रोताहरू बाट आफूहरूले पाएको माया र सम्मान कहिल्यै नबिर्सिने वहाँहरूले बताउनु भयो । 

अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले चार दशक भन्दा लामो गीत सँगीतको ईतिहास बोकेका यस्ता महान कलाकारहरुलाई अभिनन्दन गर्दा मँच र आफु अत्यन्त हर्सित भएको बताउनुभयो । २६ / २७ बर्ष अघि आफुले गाएका, रेडियो नेपालबाट प्रसारित र म्युजिक नेपालबाट प्रकाशित आफ्ना गीतहरुमा संगीत संयोजन शिला बहादुर मोक्तान लाई आफुले कहिलै बिर्सिन नसक्ने बताउनुभयो ।       

कलाकारहरूको अन्तर्राष्ट्रिय सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका (International Artists Forum, US, www.IAFAmerica.com ) द्वारा प्रदान गरिएको वरिष्ठ सङ्गीतकार एवम् गीतकार शिला बहादुर मोक्तानलाई प्रदान गरिएको अभिनन्दन -पत्रमा भनिएको छ :              

"श्रीमान् शिला बहादुर मोक्तानज्यू 

( वरिष्ठ सङ्गीतकार एवम् गीतकार ) 

काठमाडौँ नेपाल, हाल भ्रमण मुकाम, भर्जिनिया अमेरिका 

गीत सङ्गीत क्षेत्रका अमूल्य निधी मोक्तानज्यू, चार दशक भन्दा बढी लामो समय देखी नेपाली गीत सङ्गीतको क्षेत्रमा तपाईँले पुर्‍याउनु भएको योगदान सुनौला अक्षरले अङ्कित छ । रेडियो नेपाल देखी म्युजिक नेपाल सम्म, गीत रचना देखी सङ्गीत सम्म, आधुनिक, लोक, चलचित्र, भजन लगायतका आठ सय भन्दा बढी गीतमा सङ्गीत दिने र गीत लेख्ने यस क्षेत्रका एक बादशाह तपाईँले नेपाल आमाका लागि जे जति योगदान पुर्‍याउनुभएको छ त्यो सबै यहाँ उल्लेख गर्न, अटाउन असम्भव हुन्छ । तपाईँले गीत सङ्गीतको क्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै तपाईँलाई अमेरिकामा आज कलाकारहरूको अन्तर्राष्ट्रिय सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका 

(International Artists Forum, US) का तर्फबाट, सबै कलाकारहरूका तर्फबाट अभिनन्दन गर्दै अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका द्वारा प्रदान गरिने यो मानार्थ सदस्य, विशेष पदक र अभिनन्दन-पत्र सादर समर्पण गरिएको छ । तपाईँको सुख, सुस्वास्थ्य, उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको कामना गर्दछौँ । धन्यवाद ।"

   यसै गरी अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका (International Artists Forum, US, www.IAFAmerica.com ) द्वारा प्रदान गरिएको वरिष्ठ गायिका कुन्ती मोक्तानलाई प्रदान गरिएको अभिनन्दन -पत्रमा भनिएको छ :


 "आदरणीय कुन्ती मोक्तानज्यू 

( वरिष्ठ गायिका एवम् सङ्गीत प्रशिक्षक ) काठमाडौँ नेपाल, हाल भ्रमण मुकाम, भर्जिनिया अमेरिका 

श्रोता र दर्शकको दिलको बारीमा राज गर्दै चार दशक भन्दा बढी लामो समय देखी नेपाली गीत सङ्गीतको क्षेत्रमा तपाईँले पुर्‍याउनु भएको योगदान सुनौला अक्षरले अङ्कित छ । रेडियो नेपाल देखी म्युजिक नेपाल सम्म, गायन देखी सङ्गीत सम्म, आधुनिक, लोक, चलचित्र, भजन लगायतका ६ सय भन्दा बढी गीतमा, आफ्ना १३ वटा अमूल्य एल्बममा, जन जनलाई प्रिय लाग्ने सुरिलो स्वर दिने, सङ्गीत प्रशिक्षक समेत रहनुभएकी तपाईँ यस क्षेत्रमा अति नै आदरणीय र लोकको प्रिय हुनुहुन्छ । तपाईँले नेपाल आमाका लागि जे जति योगदान पुर्‍याउनुभएको छ त्यो सबै यहाँ उल्लेख गर्न, अटाउन असम्भव हुन्छ । तपाईँले गीत सङ्गीतको क्षेत्रमा पुर्‍याउनुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै तपाईँलाई अमेरिकामा आज कलाकारहरूको अन्तर्राष्ट्रिय सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका ( International Artists Forum, US ) का तर्फबाट, सबै कलाकारहरूका तर्फबाट अभिनन्दन गर्दै अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका द्वारा प्रदान गरिने यो मानार्थ सदस्य, विशेष पदक र अभिनन्दन-पत्र सादर समर्पण गरिएको छ । तपाईँको सुख, सुस्वास्थ्य, उत्तरोत्तर प्रगति र उज्ज्वल भविष्यको कामना गर्दछौँ । धन्यवाद ।"

उक्त कार्यक्रमका केही तस्बिरहरू आफै यसरी समाचार बोल्छन : 

(Photo Credit Kharel Babu / Bishwaraj Thapa / www.Nepalmother.com / www.Enepalese.com) 




No comments: